के धरानवासीको हर्ष बन्लान् त हर्क ?

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , २ वर्ष अगाडि

धरान । स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा एक्ला स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ)लाई प्रमुखमा रुचाए । वडामा दलका उम्मेदवारलाई समर्थन गरे पनि उपमहानगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवारलाई रुचाएका हुन् ।

साम्पाङले ठूला पार्टीलाई पछि पार्दै उपमहानगरको प्रमुखमा विजयी हुनुभएको छ । साम्पाङको उपमहानगर प्रमुखमा विजयीपश्चात् स्थानीयले राजनीतिक दलप्रतिको ‘वितृष्णा’ उजागार गरेको चर्चा यत्रतत्र हुन थालेको छ ।

धरानमा एउटा सामान्य नागरिकले इतिहाससमेत बनाउनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्नुभएको हो । साम्पाङले २० हजार ८२१ मत प्राप्त गर्नुभएको छ भने उहाँ प्रतिस्पर्धी राईले १६ हजार ६९ मत प्राप्त गर्नुभयो ।

यस्तै निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको अन्तिम मत परिणामअनुसार उपमहानगर प्रमुखमा नेकपा (एमाले)का मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्र प्राप्त गर्नुभयो । सामाजिक अभियन्ताका रुपमा दरिनुभएका साम्पाङले धरानमा भएको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आउनुभएको थियो ।

उहाँ प्रमुखमा उम्मेदवारी दिने भएपछि उपमहानगरमा भइरहेको बेथितिबारे एक्लै भाषणमार्फत सन्देश फैलाउँदै घरदैलो गर्नुभएको थियो । एक्लै भए पनि उहाँले धरानको विकासमा खेल्नुपर्ने भूमिकाबारे बताउँदै आएपछि धरानका स्थानीयले यसपाली उहाँलाई लोकप्रिय मत दिएर जिताउनुभएको हो । उहाँले २०७६ को उपनिर्वाचनमा पनि प्रमुखमा उम्मेदवारी दिँदा जम्मा ४४२ मत प्राप्त गर्नुभएको थियो ।