काठमाडाैं । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले चुनावी प्रतिवद्धता अनुसार कामकाे थालनी गरेकी छिन् ।
उनले पदबहालीपछि आफ्नो चुनावी प्रतिवद्धता अनुसार हिंसामा परेका, अन्यायमा परेका र पीडित महिलाहरुको संरक्षणका लागि महानगरपालिकाका सबै वडामा वुमन सेल ‘महिला सेल’ गठन गर्ने प्रक्रिया अघि बढाउने निर्णयमा हस्ताक्षर गरेकी छिन्।उनको चुनावी प्रतिवद्धतापत्रको २२ नम्बर बुँदामा महिला सेल गठन गर्ने उल्लेख छ ।
सबै वडामा गठन भएको महिला सेलले न्यायिक समितिसँग समेत समन्वय गरी अन्यायमा परेका र पीडित महिलाहरुका लागि आवश्यक कार्य गर्ने छ ।
त्यसैगरी उनले पदबहालीपछि मेलमिलाप कर्तालाई आह्वान गर्न मेलमिलापको सूचि अध्यावधिकका लागि सूचना प्रकाशन गर्ने पत्रमा हस्ताक्षर गरेकी छिन् । साना–तिना विवादलाई वडा तहबाटै निरुपण गर्ने उदेश्यले मेलमिलाप केन्द्रहरुलाई थप प्रभावकारी बनाउने बताइन्।
उनले सहमति, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई आत्मसाथ गर्दै अघि बढ्ने पनि प्रतिवद्धता व्यक्त गरिन् ।

