आँबुखैरेनी नजिक भासिएको सडकबाट कार र मोटरसाइकल खस्यो

NewsBankNepal MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

तनहुँ ।   पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकबाट एउटा कार र मोटरसाइकल खसेको छ । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको हो ।  

मोटरसाइकल खसे पनि मोटरसाइकल चालक भने सकुसल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । “कार पहिराले पुरिएको छ, माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको छ”, उनले भने, “कारमा कति मान्छे थिए भन्ने खुलेको छैन ।”     सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला परेको छ । मृतक दुवैको सनाखत हुन सकेकाे छैन।

पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ ।   नदीमा मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने सङ्केत देखिएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भाँसिएर जोखिम र राजमार्ग अवरुद्ध बनेको छ ।   सडकको तलाको भाग भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । सडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ ।