रोल्पा जिल्ला कारागारमा कैदी सुन्दर हरिजनले गरेको आत्महत्याबारे छानविन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ ।
उक्त घटनाका सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाईँ नेतृत्वको समितिले स्थलगतरूपमा सत्यतथ्य छानविन गरी तयार पारेको प्रतिवेदन मङ्गलबार गृहमन्त्री खाणलाई बुझाएको हो । समितिले बुझाएकाे प्रतिवेदनमा प्रत्यक्ष वा अप्रत्यक्षरूपमा तत्कालीन अवस्थामा कारागार प्रशासनसँग सम्बद्ध कर्मचारीहरूले कारागार ऐन र नियमावली तथा आफ्नो पदीय जिम्मेवारी एवम् दायित्व निर्वाहमा लापरबाही तथा त्रुटि गरेको र कर्तव्य पालनामा उदासिनता देखाएको उल्लेख गरेको छ ।
गृहमन्त्री खाणले कैदी हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे तयार भएको प्रतिवेदनमा समेटिएका विषय कानुनअनुरुप कार्यान्वयनको प्रक्रियामा लगिने बताए । रोल्पा कारागार कार्यालयमा गत जेठ ४ गते हरिजनले झुण्डिएर आत्महत्या गरेका थिए । प्रतिवेदनले दोषी औँल्याएकालाई कानुनअनुरुप कारबाहीको प्रक्रिया सुरु गरिने गृहमन्त्री खाणले प्रतिबद्धता जनाए ।
घटनाबारे छानविन गर्न सहसचिव सेढाईँको संयोजकत्वमा मन्त्रीस्तरीय निर्णयबाट जेठ १७ गते ५ सदस्यीय समिति गठन भएको थियो । समितिमा मन्त्रालयका उपसचिव झङ्कनाथ ढकाल, प्रहरी उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य थिए।

