लुम्बिनी प्रदेशकी तत्कालिन स्वास्थ्य राज्यमन्त्री विमला वलीले गरेको विवादको घटना छानबिन गर्न बनेको सरकारी छानबिन टोलीले आफ्नो प्रतिवेदन मुख्यमन्त्री कुलप्रसाद केसीलाई आज बुझाएको छ ।
छानबिन समितिका संयोजक आन्तरिक मामिला मन्त्री तिलक राम शर्मा र सदस्य महिला तथा बालबालिका मन्त्री रमा घर्तीले बुझाएको प्रतिवदनमा विमला र एकराज बस्नेत बीचको लेनदेन कारणले घटना घटेको निष्कर्ष निकालेको जनाइएको छ ।
प्रतिवेदनमा राज्यमन्त्रीजस्तो व्यक्तिले सर्वसाधारणको घरमा श्रीमती र छोरीसँग झगडा गर्नु कमजोरी भएको उल्लेख छ । रकम असुली गर्नको लागि घरमै भन्दा अन्य विकल्प नखोज्नु कमजोरी भएको उल्लेख छ ।
विमला र एकराज बस्नेतबीच ६ लाख २० हजार रुपैयाँ लेनदेन भएको बताइएको छ । घटनामा विमलाले दायित्व बिर्सेर काम गरेको उल्लेख गर्दे सरकाले कडा रूपमा सचेत बनाउनु पर्ने राय दिएको छ । एकराजले फोनमा घरै छु भनेपछि मन्त्री पुगेको तर नभेटिएपछि आवेगमा आएको प्रतिवेदनमा भनिएको छ ।
तत्कालीन राज्यमन्त्री वलीले जेठ ३१ गते बिहान आफ्नो सुरक्षा गार्डसहित एकराज बस्नेतको घरमा पुगेर लफडा मच्चाएको आरोप लागेको छ।