प्रचण्ड भारतमा हुँदा नारायणकाजीले किन गरे ओलीसँग वाम तालमेलको प्रस्‍ताव?

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , २ वर्ष अगाडि


काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वाम तालमेलको प्रस्‍ताव गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी एकता नभए पनि वाम तालमेल गर्न प्रस्ताव गरेका हुन्। 

अहिले वामपन्थी नेताहरू एकले अर्कालाई सिध्याउन लागिपरेको उनले बताए। यसो गर्दा वामपन्थी आन्दोलन नै सिध्दिने पनि उनले बताए। 

देश बचाउनको लागि वामपन्थी नेताहरूको एकताको आवश्यकता रहेको उनको भनाइ छ।एकता सम्भव नभए पनि तालमेल वा मोर्चा बनाएर जाऔं भन्ने प्रस्ताव श्रेष्ठले ओलीसमक्ष राखेका थिए। 

‘यसको निम्ति वामपन्थी नेताहरूको एकता आवश्यकता छ। कमसेकम तालमेल तथा मोर्चा गरेर जानुपर्ने आवश्यकता छ,’ उनले भने। 

श्रेष्ठले ओलीको नाम नै लिएर ‘तुम शेर, तो हम सवा शेर’ भन्ने नगर्न र वामपन्थी तालमेलमा आउन आग्रह गरेका थिए ।यस्तै उनले सबैले आत्मसमीक्षा गरेर जाऔं पनि भनेका छन्।

कार्यक्रमको प्रमुख अतिथि रहेका ओलीले नेता श्रेष्ठलाई जवाफ दिँदै भने, ‘नेपालमा वामपन्थी पार्टीहरु छन् भने कांग्रेसको पछाडि नलाग्न र वामपन्थी एकतामा आउन आग्रह गर्छु ।’

साइन बोर्ड मात्र राखेर कुनै पनि दल वामपन्थी नहुने भन्दै ओलीले भने, ‘चौरीको पुच्छर जस्तो कांग्रेसको पुच्छर भएर वामपन्थी पार्टी हुन्छ ?’

 माओवादी अध्यक्ष प्रचण्ड हाल भारत  भ्रमणमा रहेकाे बखत साे पार्टीका जिम्मेवार नेताबाट उठेकाे बाम तालमेलकाे कुराले राजनीतिकले नयाँ माेड लिएकाे छ ।