अर्थ मन्त्रालयको सीसीटीभी फुटेज सम्बन्धि फरेन्सिक रिपोर्टबारे संसदीय विशेष समितिमा अध्ययन हुँदैछ ।
सिंहदरबारमा जारी समितिको बैठकमा फरेन्सिक रिपोर्टको सिल खोलेर त्यसबारे अध्ययन भइरहेको छ ।नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट हिजो समितिलाई बुझाएको थियो ।
सीसीटीभीको हार्डडिक्सबाट फुटेज रिकभर भयो कि भएन भन्ने चासो धेरैको छ ।बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भन्ने विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले अहिलेसम्म कुनै क्लु पाउन सकेको छैन ।
मन्त्रालयले सीसीटीभी फुटेज १३ दिनसम्म मात्र कायम रहने र त्यसपछि डिलिट हुने भन्दै सो दिनको फुटेज डिलिट भइसकेको जनाएपछि समितिले उक्त फुटेज रिकभरका लागि प्रहरीको सहयोग मागेको थियो ।
बजेट सार्वजनिक गर्ने अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको तत्कालीन मन्त्री जनार्दन शर्मामाथि आरोप लागेको छ । आरोप खेप्न नसकेपछि शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।आरोपबारे छानबिन गर्न सभामुख अग्नि सापकोटाले गत असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेका थिए ।

