मनसुन भित्रिएसँगै हालसम्म ३५ जनाको मृत्यु

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । मनसुन भित्रिएसँगै हालसम्म ३५ जनाको मृत्यु भएकाे छ । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार जेठ २२ पछि विपद्जन्य घटनाबाट ३५ जनाको मृत्यु भएको र तीन बेपत्ता छन् ।

विभिन्न घटनामा परेर ३९ घाइते भएका छन् । देशका ४७ जिल्लामा विपद्जन्य घटना भएको छ । त्यसबाट ८२ घर पूर्ण र ६४ घरमा आंशिक क्षति पुगेको छ । यही साउन १६ यताका दुई दिनमा विपद्बाट सात जनाको मृत्यु भएको जनाइएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा हुने प्रणाली नेपालको पश्चिमतर्फ सरेको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार उक्त प्रणाली पश्चिममा थप सक्रिय हुन थालेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमी भू–भागमा दक्षिणबाट उत्तरी क्षेत्रमा सरेको छ ।

पूर्वी क्षेत्रमा सरदर देखिन्छ । उक्त रेखा उत्तरतर्फ सर्नु भनेको नेपालको भू–भाग नजिक आउनु हो । यसरी उक्त रेखा नजिक अउनु भनेको त्यस क्षेत्रमा भारी वर्षा गराउने मनसुन प्रणाली सक्रिय हुनु हो । अहिले पूर्वमा सरदरमा झरेकाले वर्षा कम भएको हो ।

नेपालमा पछिल्लो पटक यही १० गतेबाट पूर्वी क्षेत्रमा उक्त न्यून चापीय रेखा सरदरस्थानमा आएको थियो । त्यसपछि उत्तर सर्दै नेपालतर्फ आयो । यसकारण साउन १२ बाट १७ गते साँझसम्म उत्तरतर्फ रहँदा नेपालको पूर्वी क्षेत्रमा बढी वर्षा मापन गरिएको थियो । यही वर्षाले कोसीको बहाव उच्च हुन पुग्यो । अहिले पूर्वबाट उक्त रेखा नेपालको पश्चिम क्षेत्र नजिक आएकाले त्यस क्षेत्रमा वर्षा बढी हुने अनुमान गरिएको छ ।