काठमाडौं,१९ साउन । बहुप्रतिक्षित नेपाली चलचित्र ‘कृष्ण–लीला’ को अष्ट्रेलीया राइट बिक्री भएको छ । प्रदर्शनको मिति नजिकिदै जादा सर्वत्र चर्चा र चासोमा रहेको फिल्मको राइट अष्ट्रेलीया निवासी निकेश मानन्धरले खरिद गरेका हुन् । प्रदर्शन अधिकार सम्झौतामा मानन्धरका प्रतिनिधि र ‘कृष्ण लीला’ टिमबीच बुधबार राजधानीमा हस्ताक्षर भएको हो ।
चलचित्रका कार्यकारी निर्माता रत्न श्रेष्ठले अष्ट्रेलीया राइट महंगो रकममा बिक्रि गरिएको जानकारी दिएका छन । ‘रकम नखुलाउन आग्रह गर्दै श्रेष्ठले भने ‘अपेक्षाभन्दा बढी मुल्यमा बेचेका छौ ।’ उनले चलचित्रको अन्य देशमापनि प्रदर्शनका लागी समन्वय भइरहेको बताए ।
कृष्णजन्माष्टमीको दिन अर्थात् भदौ ३ गते प्रदर्शनमा आउने चलचित्रमा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ,रविन्द्र झा, भावना गुरुङ,नवीन रेग्मी,हिउँवाला गौतम,आयुषा क्षेत्री तथा बालकलाकार आयुष गुरागाईँ लगायतको मुख्य भूमिका रहेको छ भने यस चलचित्रको निर्देशन दीपक ओलीले गरेका हुन ।
आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ छन् । पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको फिल्मको लाइन प्रोड्युसर रमेश तामाङ हुन् । लक्ष्मण सुवेदी लिखित फिल्म शिब ढकालले खिचेका हुन् भने अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत,रामजी लामीछाने र माइकल चन्दको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ ।