काठमाडाैं । विश्वभरि फैलिरहेको मङ्कीपक्स रोग सङ्क्रमणको जोखिम नेपालमा पनि रहेको पाइएको छ । नेपाल–भारत खुला सिमाना भएको र विभिन्न देशबाट पर्यटकको आउजाउका कारण नेपाल मङ्कीपक्स रोगको सङ्क्रमणको जोखिममा परेको हो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), स्वास्थ्य पत्रकार मञ्च नेपालले आज आयोजना गरेको मङ्कीपक्सको अवस्था र जोखिम विषयक अन्तरक्रिया कार्यक्रममा डब्लुएचओ नेपालका प्रमुख राजेश पाण्डवले नेपाल मङ्कीपक्स सङ्क्रमणको जोखिममा रहेको बताए । यद्यपि भाइरसबाट हुने एक किसिमको सरुवा रोग मङ्कीपक्स भने हालसम्म नेपालमा देखिएको छैन ।
भारतमा मङ्कीपक्सका बिरामी भेटिनु र खुला सीमा भएकाले सङ्क्रमितले सजिलै नेपाल प्रवेश पाउने भएकोले पनि उच्च जोखिम रहेको हो । भारतमा अहिलेसम्म नौ जना मङ्कीपक्सका सङ्क्रमित फेला परिसकेका छन् । यस्तै अफ्रिका, युरोप, मध्यपूर्वी एसिया देशबाट पनि नेपालमा पर्यटक आउने सक्ने भएकाले जोखिम बढेको डब्लुएचओका नेपालस्थित महामारी विज्ञ डा चथुरा इदिरीसुरियाले जानकारी दिए । “यी ठाउँबाट नेपालमा सजिलै पर्यटकको आउजाउ धेरै भएको पाइन्छ”, उनले भने, “त्यसैले नेपाल पनि मङ्कीपक्सको जोखिममा छ ।”
असी देशका करिब २४ हजार मानिसमा मङ्कीपक्सको सङ्क्रमण फैलिएको डब्लुएचओले जनाएको छ । डा इदिरीसुरियाले मङ्कीपक्स रोगको जोखिम बारेको जानकारी समुदायमा सरकारले गराउनु आवश्यक रहेको बताए । रोग सार्नेमध्ये ९७ दशमलव पाँच प्रतिशत सङ्क्रमण पुरुष पुरुषबीच हुने यौन सम्पर्कबाट सर्ने गरेको पाइएको डब्लुएचओले जनाएको छ । तीमध्ये ३८ प्रतिशतमा एचआइभी पोजिटिभ पाइएको छ ।
डब्लुएचओका नेपालस्थित महामारी विज्ञ डा इदिरीसुरियाले यस रोगको सङ्क्रमण एक व्यक्तिले अर्को व्यक्तिमा २१ देखि २४ दिनभित्रमा सार्ने सक्ने भएकोले एक महिनासम्म आइसोलेसनमा बस्नुपर्ने बताए । डब्लुएचओ नेपालका स्वास्थ्य आपत्काल कार्यक्रम प्रमुख डा एलिसन गोकोटानोले भारतमा मङ्कीपक्सको बिरामी देखिएकोले खुला सिमानाका कारण नेपालमा सजिलै मङ्कीपक्सको सङ्क्रमण देखिने बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा खगेश्वर गेलालले छिमेकी मुलुकमा देखिएसँगै नेपाल पनि मङ्कीपक्स सङ्क्रमणको जोखिममा रहेको बताए । उनले अहिलेसम्म शङ्कास्पद चार वटा नमूना परीक्षणमा मङ्कीपक्स रोग नदेखिएको जानकारी दिए । “अहिलेसम्म नेपालमा एउटा पनि सङ्क्रमण देखिएको छैन ।
तर छिमेकी मुलुक भारत र नेपालमा सजिलै आउजाउ हुने देशमा देखिएकोले ढुक्क हुने अवस्था छैन”, उनले भने । डब्लुएचओले मङ्कीपक्स सङ्क्रमणको परीक्षण गर्नका लागि २५० किट उपलब्ध गराएको छ । अहिले सोही किटमार्फत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मङ्कीपक्सको परीक्षण हुने गर्दछ । डब्लुएचओका जनस्वास्थ्य विज्ञ डा शीतल अधिकारीले मान्छेबाट मान्छे र जनावरबाट मान्छेमा यो रोग सर्ने गरेको बताउनुभयो ।
उनले छाला र मुखमा रहेको दाग, बिमिरा फुट्दा र नजिक रहेको व्यक्तिमा मङ्कीपक्स रोग सर्ने जानकारी दिए । घाउ, खटिरा, बिमिराको सम्पर्कबाट, शरीरबाट निस्किएको तरल पदार्थ जस्तै थुक, ¥यालको सम्र्पकबाट, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष सम्पर्कबाट, सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो रोग सर्दछ । काटिएको, बिमिरा वा फुटेको छाला, आँखा, नाक वा मुख, श्वासनली जस्ता अङ्गबाट पनि यो भाइरस सर्ने गर्दछ ।
यस्ताे छ सरकारको तयारी
मङ्कीपक्सको जोखिम कम गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेको छ । महाशाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा गेलालले मङ्कीपक्स पत्ता लगाउन अध्ययन अनुसन्धान गर्न देशभर १४ जना चिकित्सकलाई फोकल पर्सन नियुक्त गरी काम गरिरहेको बताए ।
यस्तै मङ्कीपक्सका शङ्कास्पद बिरामीको परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको छ । महाशाखाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र कान्ति बाल अस्पतालका चिकित्सकलाई अभिमुखीकरण तालिम दिइसकेको छ । उहाँले ‘इन्टर्नल गाइडलाइन अन क्लिनिकल म्यानेजमेन्ट अफ मङ्कीपक्स–२०७९’ तयारी गर्न थालेको जानकारी दिए ।
यस्तै उनले स्वास्थ्य सेवा विभागका सबै महाशाखालाई मङ्कीपक्सको प्रतिकार्यका लागि आगामी कार्ययोजनासमेत बनाउने निर्देशन दिइसकेको जानकारी दिए । महाशाखाले मङ्कीपक्सको उच्च जोखिममा रहेका समुदायसँग पनि रोकथाम र नियन्त्रणबारे छलफल गरेको उनको भनाइ छ । सातवटै प्रदेशका प्रदेश निर्देशनालयलाई मङ्कीपक्सको रोकथाम र नियन्त्रण गर्नका लागि निर्देशन दिइएको छ ।
ज्वरो आउनु, सामान्य ज्वरो शुरु भएको एकदेखि तीन दिनभित्रमा छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्नु, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु, टाउको ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थीहरु बढ्नु यस रोगका लक्षण हुन् । मङ्कीपक्स रोगका सम्भावित जटिलता आँखामा सङ्क्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको सङ्क्रमण, निमोनिया, मस्तिष्क ज्वर, गर्भ खेर जानुजस्ता रहेका छन् ।रासस