आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तयार गरेको छ ।

जस अनुसार असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताकाे मिति तय गरिएकाे छ ।उम्मेदवारको अन्तिम नामावली भने असोज २६ गते प्रकाशन गरिने छ । 

यस्तै, असोज ११ गते निर्वाचन अधिकृत नियुक्त, २१ गते कार्यालय स्थापना गर्ने कार्यतालिका छ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ । तालिका अनुसार कात्तिक १६ गते मतदान सामग्री ढुवानी र २७ गते मतपत्र ढुवानी गरिने निर्वाचन आयेगले जनाएको छ ।

मंसिर ४ गतेको चुनावका लागि १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । ४ गते  बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ भने त्यही दिनदेखि नै समानुपातिक र प्रत्यक्षतर्फको मतगणना सुरु गर्ने आयोगको तयारी छ ।  दर्ता भएका दलले असोज २ र ३ गते उम्मेदवारको बन्दसूची बुझाउने छन् ।

चुनावका लागि आउँदो ३१ गतेसम्म राजनीतिक दलले दल दर्ता गर्न पाउनेछन् । जनक शिक्षा सामग्री केन्द्रले २८ गतेदेखि मतपत्र छपाइ सुरु गर्ने छ ।  प्रत्यक्षतर्फको मतपत्र छाप्न झण्डै एक महिना लाग्ने जनाएको छ ।