काठमाडाैं । गए राति आएको वर्षा र बाढीले काठमाडौं उपत्यकाका दर्जनौँ बस्ती डुबानमा परेका छन् । मनोहरा,धाेवी खाेला, वाग्मती,महादेव खोला र विष्णुमती खोलामा बाढी आउँदा आसपासका दर्जनौँ बस्ती डुबानमा परेका हुन् ।
बाढीले मनोहरा आसपासका सुकुम्बासी बस्तीमा करिब एक सय घर डुबाएको छ भने काँडाघारी प्रहरी प्रभागसहित आसपासका करिब दुई सय घर डुबाएको छ । दुवाकोट बेंशीमा पनि २० वटा सुकुम्बासीका छाप्रोमा पानी पसेको छ । मध्यपुरथिमि नगरपालिका–१ मा माटोको ढिस्को खोलामा पस्दा खोलाले धार नै परिवर्तन गरी बस्तीमा पसेको छ ।
प्रहरीका अनुसार अहिलेसम्म कुनै मानवीय क्षति भएको जानकारी छैन ।ठूलो मात्रामा पशुचौपाया लत्ताकपडा, खाद्यान्नका सामाग्री बगाएको छ भने भौतिक संरचनामा समेत क्षति पुर्याएको छ । क्षतिको विवरण यकिन भइसकेको छैन ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठोरका अनुसार मनोहरा नदीमा आएको बाढीका कारण जडीबुटी क्षेत्रको सुकुम्बासी बस्तीका तीन सय जनालाई उद्धार गरी कोटेश्वर बहुमुखी क्याम्पसमा राखिएको छ ।
त्यस्तै, शंखरापुर नगरपालिका–६ र ९ तथा कागेश्वरी मनोहरा नगरपाकिा–४ बाट १७ जनालाई उद्धार गरिएको छ । त्यस्तै, पेप्सीकोला क्षेत्रबाट १५ जनालाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको प्रवक्ता राठोरले जानकारी दिए ।अहिले डुबान भएको क्षेत्रमा क्रमश: पानीको सतह घटेको छ । काठमाडौं, ललितपुर र भक्तपुरमा सम्भावित जोखिमलाई ध्यानमा राखेर १५–१५ जनाको टोली उद्धारका लागि तयारी अवस्थामा राखिएकाे छ ।

