सिट बाँडफाँटको ढाँचा बनाउने कार्यदलमा सहमति

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँडकाे ढाँचा तयार पार्ने भएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँटको ढाँचा बनाउने र वर्तमान संसदको उपस्थितिलाई मुख्य आधार बनाउने समझदारी भएको छ ।  कार्यदलका सदस्य सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठक सकारात्मक भएको जनाउँदै विभिन्न मोडालिटीमा छलफल गरेर केही दिनभित्रै कार्य पूरा गर्ने बताए । 

यसैगरी, कार्यदलका सदस्य एवम् नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले सहमतिको मोडालिटी तयार गर्ने प्रक्रियामा आज सकारात्मक छलफल भएको बताए । सैद्धान्तिक मान्यताको सन्दर्भमा आफ्ना–आफ्ना दलमा छलफल र परामर्श गरेर ढाँचा तयार गर्ने सहमति भएको उनको भनाइ छ। 

सिट बाँडफाँटमा स्थानीय निर्वाचनको परिणामलाई आधार मान्नुपर्ने विषय आएको भए पनि हालको संसद र विगतको  निर्वाचनको उपस्थितिलाई पनि ध्यानमा राख्नुपर्ने गुरूङले बताए। बैठकमा निर्वाचनमा कसरी जाने भन्नेबारे आ–आफ्नो पार्टीमा भएकाे छलफलबारे सदस्यहरूले धारणा प्रस्तुत गरेका छन् ।

गठबन्धनको ११ सदस्यीय कार्यदलमा कांग्रेसका तर्फबाट महामन्त्री गगनकुमार थापा, कृष्णप्रसाद सिटौला र सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्की , नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट वेदुराम भुषाल र प्रमेश हमाल, जनता समाजवादीबाट रामसहाय प्रसाद यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा रहेका छन् । कार्यदलको अर्को बैठक साउन ३० गते बस्नेछ।