प्रजनन केन्द्रका तीन गोही बाघले खायो

NewsBankNepal News/समाचार , ४ वर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ । बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो । दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो ।

  निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइते बाघले शिकार गर्न नसकेपछि मानिस छिर्ने गरेको केही होचो पर्खाल नाघेर प्रजनन केन्द्र छिरेको हो । यहाँ रहेका अन्दाजी १२ वर्षका माउ गोही खाएको उनले जानकारी दिए।  

बिहानको समयमा बाघले गोही खाएको हो । गोही खाने बाघ अन्दाजी १२ वर्षको भाले हो । सूचना अधिकारी तिवारीले भने, “बाघले गोही खाएको मैले सुनेको पहिलो घटना हो ।” गोही खाएपछि बाघलाई ‘डाटर्’ गरेर नियन्त्रणमा लिई बाँके पठाइएको छ ।  

सो दिन पानी परेकाले ढिलो गरी कर्मचारी प्रजनन केन्द्र गएकाले बाघको आक्रमणबाट बचेका थिए । बाघले आक्रमण गरी घाइते गोहीलाई बाघ भएको स्थान नजिक लगेर राखी खान आएको समयमा बाघलाई नियन्त्रणमा लिइएको हो । यसअघि बाँकेबाट एउटा बाघ यहाँ ल्याइएको थियो । यहाँ खोर खाली नभएपछि बाँके पठाइएको हो । हाल सौराहामा दुई र कसरामा दुई बाघ खोरमा छन् ।