नागरिकता विधेयक पुनः दुवै सदनबाट पारित गरी पठाइने : अध्यक्ष यादव

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति कार्यालयबाट फिर्ता भएको नागरिकतासम्बन्धी विधेयक पुनः दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइने बताएका छन् ।  

पिछडा वर्ग महासङ्घको मधेस प्रदेश भेलालाई आज जनकपुरधाममा सम्बोधन गर्दै उनले राष्ट्रपति कार्यालयबाट नागरिकता विधेयक फिर्ता भए पनि विधेयक निष्क्रिय नहुने भएकाले छिट्टै पुनः प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर विधेयक प्रमाणीकरणका लागि पठाइने बताए।   उनले कुनै पनि नागरिकलाई नागरिकताबाट वञ्चित नगरिने भनी संविधानले नै सुनिश्चित गरिसकेकाले नेपाली नागरिकका सन्तानहरुलाई नागरिकताबाट वञ्चित गर्ने षड्यन्त्र भए आफूहरु सडक र सदन दुवै ठाँउबाट आन्दोलन गर्ने बताए ।

अघिल्लो सरकारले यही व्यहोराको अध्यादेश ल्याउँदा राष्ट्रपतिले तत्कालै प्रमाणीकरण गर्नुभएको भन्दै अध्यक्ष यादवले अहिले संसद्बाट पास भएको विधेयक फिर्ता गर्नु उचित नभएको उनले जिकिर गरे ।   शिक्षा, स्वास्थ्य र सामाजिकरूपमा पछाडि परेको पिछडा वर्गलाई राज्यको मूलधारमा ल्याउने जिम्मेवारीसमेत राज्यकै रहेको उल्लेख गर्दै उनले पिछडा वर्गलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा विशेष जोड दिनुपर्ने बताए ।  

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पिछडा वर्गको उत्थान र विकासका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रममै समावेश गरेर रु पाँच करोड बजेटसमेत विनियोजन गरिसकेको जानकारी दिए ।  

उनले छिट्टै पिछडा वर्ग विकास समिति गठन गरेर पिछडा वर्गको शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गरिने बताए। महासङ्घका अध्यक्ष भरतप्रसाद महतोको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेस सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, पूर्वआन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव र युवा नेता जीतेन्द्र यादवलगायतले बाेलेका थिए ।