काठमाडाैं । प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने म्याद आज सकिंदै छ । प्रमुख सत्तारूढ दल कांग्रेस,माओवादी लगायतका बाँकी दलहरू दर्ताका लागि आयोग जाँदै छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुरूमा नै दर्ता गराइसकेकाे छ ।
दल दर्ता गराउन आयोग पुग्ने नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले आसन्न निर्वाचनमा एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने बारेमा पनि जानकारी गराउँने छन् । जसपाबाट छुट्टीएका भट्टराई नेसपाकाे नेतृत्व गर्दै चुनावमा माओवादीसँग एकता गर्न पुगेका हुन् । चुनावी एकता हुँदैपछि माओवादी नै एकीकरण हुने तयारी भइरहेकाे छ ।
आयोगले जारी गरेको सूचना अनुसार आज दल दर्ताको अन्तिम दिन हो ।निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलहरुले आज कार्यालय समयभित्र दल दर्ता गराइसक्नु पर्ने छ ।निर्वाचन आयोगले २२ साउनदेखि दल दर्ताको कार्यक्रम सुरु गरेको थियो ।आयोगका अनुसार हिजोसम्म ६२ वटा दल दर्ता भइसकेका छन् ।

