राष्ट्रपतिदेखि दलका नेताहरूले गरे गिरीप्रति श्रद्धाञ्जलि व्यक्त

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले आज बिहान ट्वीट गर्दै “गिरीको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौँ”, भन्नुभएको छ । राष्ट्रपति भण्डारीले शोकाकूल परिवारमा गहिरो समवेदना पनि प्रकट गर्नुभएको छ ।

यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले गिरीको निधनसँगै नेपालले एक सच्चा र असल नेता गुमाएको बताएका छन् ।

उनले भनेका छन्, नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु ।गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उनको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।

यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

गृहजिल्ला तनहुँको दमौलीमा रहनभुएका पौडेलले शनिबार राति शोक वक्तव्य जारी गर्दै गिरीको निधनले अत्यन्त मर्माहत भएको उल्लेख गर्नुभएको छ । समाजवादी चिन्तक गिरीको दर्शन, विचार सदैव अमर रहने जनाउँदै वरिष्ठ नेता पौडेलले गिरीको आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनले आफूलाई स्तब्ध बनाएको बताउनुभएको छ ।

अध्यक्ष दाहालले आज एक शोक सन्देश जारी गर्दै नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं कांग्रेसका नेता गिरीको निधनले स्तब्ध बनाएको बताउनुभएको हो । उहाँले गिरीको निधनबाट समकालीन नेपाली राजनीतिमा ‘एक गहिरो अभाव’को अनुभूति गर्दै स्व गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।


यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट आफू मर्माहत भएको बताउनुभएको छ ।

अध्यक्ष ओलीले आज बिहान ट्वीट गर्दै “चिन्तनशील राजनीतिकर्मी मित्र प्रदीप गिरीको निधनबाट मर्माहत भएको छु ।” प्रतिनिधिसभा सदस्य एवं समाजवादी चिन्तक गिरीको शनिबार राति ९ः३० उपचारका क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो ।


यस्तै, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनबाट नयाँ समाजवादी धारको विकासमा ठूलो क्षति पुगेको बताउनुभएको छ ।

पैतालीस वर्ष निरन्तर गिरीसँगको गहन बौद्धिक विमर्शले आफूलाई ठूलो ऊर्जा प्रदान गर्ने गरेको स्मरण गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले गिरीको निधनमा निःशब्द रहेको जनाउनुभएको छ ।

“नयाँ समाजवादी धारको विकासमा लागेका हामी सबैलाई उहाँको निधनले ठूलो क्षति पुगेको छ”, अध्यक्ष भट्टराईले ट्वीटमा भन्नुभएको छ । उहाँले गिरीप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।