जबराले आफ्नो बचाउमा भन्दा बढी किन अरुलाई आरोप लगाए?

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ वर्ष अगाडि

काठमाडाैं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले माधव नेपालसहित अरु न्यायाधीश, बारका पदाधिकारी, पूर्वप्रधानन्यायाधीशहरूमाथि पनि गम्भीर आरोप लगाएका छन्।

आफूविरुद्ध गत १ फागुनमा सत्तारुढ दलहरूले लगाएको एक्काइस बुँदे आरोपको जवाफ दिन बुधबार संसदीय ‘काठघरामा उपस्थित भएका जबराले आफ्नो बचाउभन्दा बढी अरुलाई आरोप लगाए ।

बुधबार चार घण्टा बयान दिँदा उनले आफूमाथि लगाइएको महाअभियोगको आधार खोज्ने क्रममा गम्भीर सवालहरु उठाए । उनले आरोपहरुको खण्डन गर्दै आफ्नो बचाउ मात्रै गरेनन्, प्रश्न गर्नेहरुमाथि नै प्रश्न उठाए ।

एकीकृत समाजवादीका १४ जना सांसदको मुद्दा पेसी चढ्ने दिन नै सत्ता गठबन्धनले आफू विरुद्ध महाअभियोग ल्याएको आरोप पनि लगाएका छन् ।आफू पछाडिको न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने उद्देश्यमा महाअभियोग ल्याइएको भन्दै प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिका कहिल्यै बलियो नहुने तर्क गरे ।

२०७८ असार २८ मा शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने र प्रतिनिधिसभाको दोस्रो विघटन रद्द गर्ने फैसलापछि महाभियोग लगाउनुपर्ने कारण के थियो ? भन्ने प्रश्न गरे । परमादेशबाट फाइदा लिएको पक्षले किन महाभियोग लगायो भन्ने उनमा जिज्ञाषा थियो ।

आफूबाहेक प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गर्ने अन्य न्यायाधीशलाई सरकारले पदक दिएको स्मरण गर्दै उनले ‘गलत भए पाँचै जना गलत हुने तर्क गरे ।
नेपाल बारको तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेलले उच्च अदालतको न्यायाधीश मागेको भन्ने खुलासा भन्दै सर्वोच्च अदालत बारका अध्यक्ष पूर्णमान शाक्यले मुद्दा मिलाइदिनुपर्ने कुरा राखेको बताए ।

निलम्बित प्रधानन्यायाधीश जबराले आरोप लगाएका न्यायाधीशहरुको हकमा पनि छानबिन हुनुपर्ने देखिन्छ।४३ वटा प्रश्न मध्ये जबराले बुधबार ४ वटा प्रश्नको मात्र जवाफ दिन भ्याए । अाज उनले बाँकी प्रश्नको जवाफ दिँदै जानेछन् ।उनले अब ककसलाई आरोप लगाउने हुन् त्यो पछि नै थाहा हुने छ ।

सत्ता गठबन्धन दलप्रति रुष्ट देखिएका जबरा एमाले अध्यक्ष केपी ओलीप्रति भने सकारात्मक देखिएका छन् । त्यसो त एमालेले सुरु देखिनै महाअभियोगको बिरोध गर्दै आएको छ ।