विमानस्थलको भीआईपी कक्षबाट भागेका अभियुक्त मेरियट होटेलबाट पक्राउ

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षबाटै भागेका ठगी आरोपमा फरार एक अभियुक्तलाई प्रहरीले मेरियट होटेलबाट पक्राउ गरेको छ ।यूएईबाट फ्लाई दुबईको विमानबाट शुक्रबार बिहान विमानस्थलमा अवतरण गरेका सुनसरीका ३० वर्षीय रिजवान आलमलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार राति १० बजे मेरियट होटेलबाट पक्राउ गरेको हो । 

आलम ठगीको कसुरमा प्रहरीको फरार सूची एवं अध्यागमनको कालोसूचीमा परेका व्यक्ति हुन् । आलमको राहदानी कालोसूचीमा परेको भेटिएपछि अध्यागमनले प्रहरीलाई खबर गरेको थियो । उनी भीआईपी पास प्रयोग गरी राहदानी चेक नै नगराइ विमानस्थलबाट बाहिरिएको अध्यागमन कार्यालयले जनाएको छ । सुरक्षाकर्मीले नियन्त्रण लिन नपाउँदै भीआईपी कक्षको ढोकाबाटै भागेका थिए ।आलमलाई प्रहरीले विमानस्थल अध्यागमन कार्यालयलाई बुझाएको छ ।

उनी विमानस्थलबाट होटेलसम्म मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको गाडीमा गएको प्रहरीले जनाएको छ ।आलमसहित तीन जनाविरुद्ध दाउद हुसेनले गत कात्तिकमा आलमविरुद्ध १ करोड ६८ लाख रुपैयाँ ठगी गरेको कसुरमा कारबाहीका लागि प्रहरीमा जाहेरी दिएका थिए ।आलमले हुसेनका छोरालाई दुबईमा पाइलट कोर्स गराइदिने भनेर उक्त रकम लिएका थिए ।