काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफ्नाे कार्यकाल सुरु भएकाे १०० दिनका उपलब्धि सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले १०० दिनका उपलब्धि सार्वजनिक गरेका हुन् । उनले १०० दिनमा गरेका कामलाई ६ बुँदामा समेटेका छन् ।
फुटपाथकाे ठेला हटाएकोदेखि यम बुद्धको सालिक निर्माण गर्नेबारे महानगरले गरेकाे निर्णयमा उठेकाे विवादबारे स्पष्टीकरण दिएका छन् । उनले १०० दिन कस्तो रह्यो भन्ने बारेमा आफैले मूल्यांकन गर्नेभन्दा पनि आममानिसहरुले कसरी हेरिरहेका छन् भन्ने भयो भन्ने बढी अर्थपूर्ण हुने जनाएका छन्।
आफूहरूले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गरेकाे र त्यसले आममानिसहरूमा कस्तो सन्देश दियो भन्ने कुराले आफूहरूलाई फरक पार्ने उनको भनाइ छ।
मानिसहरूमा सकारात्मक उर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुने अन्यथा, हामीले यतिका कामहरू गर्यौँ भनेर सूचीमा बनाउँदैमा सफल हुन नसकिने उनको भनाइ छ।उनले आफूहरू १०० दिनकाे दाैडमा नरहेकाे र काम गर्नका लागि पाँच वर्षे याेजना रहेकाे पनि बताएका छन् ।
उनले १०० दिन भित्र फोहोर व्यवस्थापनका सन्दर्भमा सोचे जस्ताे हुबहु काम हुन नसकेकाे भने स्वीकार गरे । तर झन्डै २ दशकदेखि कुहिएर रहेको समस्यालाई सतहमा ल्याउन सकेकाेमा सन्तुष्टि व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘हामी अझै केही समय गाली र आलोचनामात्रै सहन तयार छौँ तर हतार गरेर महानगरका समस्याहरूको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ ।’

