काठमाडाैं । कागेश्वरी मनाेहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले १०० दिनका उपलब्धि सार्वजनिक गरेका छन् । साेमबार पत्रकार सम्मेलन गरी उनले नयाँ जनप्रतिनिधिले पदवहाली गरेपछि भएका १०० दिनका काम र याेजना सार्वजनिक गरेका हुन् । मेयर कार्कीसहितका जनप्रतिनिधिले गत जेठ ९ गते पदवहाली गरेका थिए।
नगरपालिकाले सामाजिक विकासलाई मुख्य प्राथमिकता निर्धारणा गरी शिक्षा,स्वास्थ्य,खेलकुद,जेष्ठ नागरिक, युवा तथा महिला सशक्तिकरण, उद्ममशीलताका साथै भाैतिक पूर्वाधारकाे क्षेत्रमा भएका कार्य प्रगतिकाेबारेमा उनले जानकारी गराए ।
नगर शिक्षा ऐन २०७५ काे संसाेधन गरी शिक्षा ऐन २०२८ अनुकूल बनाउँदै एक शिक्षक एक ल्यापटप कार्यक्रम अन्तर्गत सामूदायिक विद्यालयका २०९ शिक्षकलाई ल्यापटप वितरण गरिएकाे मेयर कार्कीले बताए ।
मेयरसँग जेष्ठ नागरिक घरदैलाे निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रम अन्तर्गत सबै वडाका जेष्ठ नागरिकहरूकाे स्वास्थ्य चेकजाँच गर्न सुरू गरेकाे नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरूकाे पनि निःशुल्क रूपमा नियमित स्वास्थ्य परीक्षण सुरू गरिएकाे बताइएकाे छ ।
याे अवधिमा बृहत्त एकीकृत खानेपानी कार्यक्रम अन्तर्गत स्वच्छ खानेपानीकाे धारा प्रत्येक घरमा पुर्याउने कार्य अघि बढाइएकाे जानकारी गराइएकाे छ । यसै आर्थिक वर्षभित्र ५५ सय घरधुरीलाई खानेपानी वितरण विस्तार कार्यलाई अगाडि बढाइएकाे बताए।
यस्तै शहरी विकास अन्तर्गत पूर्वी काठमाडाैं नयाँ शहरी विकास आयाेजनालाई अघि बढाउँदै अव्यवस्थित हाउजिंग,प्लटिङकाे अनुमति स्थगित गरि व्यस्थित शहरीकरणकाे कार्यलाई पनि अघि बढाउने तयारी भएकाे मेयर कार्कीले बताए ।
अहिले सबै जसाे नगरपालिकामा फाेहाेर व्यवस्थापन प्रमुख समस्या बनिरहेकाे सन्दर्भमा मनाेहरा नगरपालिकाले पनि उपयुक्त प्रविधि प्रयाेग गरी नगरकाे फाेहाेर नगरभित्रै व्यवस्थापन गर्ने गरी कार्य अघि बढाएकाे छ । नगरपालिकाकाे गाैरवकाे आयाेजनाकाे रूपमा नगरपालिकालाई खेलकुद नगरीकाे रूपमा विकास गर्न आवश्यक नीति निर्माणमा जुटेकाे उनले बताए ।
धार्मिक तथा पर्यटकीय हिसाबले याे क्षेत्र महत्वपूर्ण रहेकाले कागेश्वरी धामकाे वृहत्त विकासकाे कार्ययाेजना अघि बढाइएकाे छ । जेष्ठ नागरिकलाई सम्मान स्वरूप चाडपर्व खर्च १ हजार उपलब्ध गराउने व्यवस्था गरिएकाे छ । वर्षा त बाढीका कारण क्षति भएकाे बालि पशुधनका लागि किसानहरूलाई राहत रकम वितरण गरिएकाे भन्दै मेयर कार्कीले किसानहरूले प्राप्त गर्ने सुविधा व्यवस्थित गर्न किसान कार्डकाे शुरूवात गरिएकाे बताए ।
पत्रकार सम्मेलनमा प्रमुख प्रशासकिय अधिकृत भाेजराज घिमिरे, उपप्रमुख शान्ता थापासहित वडाध्यक्षहरू र सदस्यहरू लगायतकाे उपस्थिति रहेकाे थियाे ।

