सरकार र अनशनरत डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ ।सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डेय र अनशनरत पक्षबाट डा. केसीले हस्ताक्षर गरेका छन् । सहमतिसँगै डा. केसीले बिरामीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने समेत सम्झौता भएको छ ।
पत्रकार सम्मेलनमा डा. केसीले समयसीमाभित्र माग सम्झौता कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी पनि दिए ।केसीका मागमध्ये धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई बर्खास्त गर्ने मागका विषयमा भने कुनै सहमति हुन सकेको छैन ।
उक्त मागका विषयमा निरन्तर संघर्षमा रहने केसी पक्षले जनाएको छ । विभिन्न ७ बुँदे माग राख्दै भदौ २७ गतेदेखि डा. केसीले धनगढीबाट २० औं सत्याग्रह सुरु गरेका थिए ।