दसैंँले सुनसान बन्यो काठमाडौँ, सवारीसाधनको चाप अत्यन्त न्यून

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । बडादशैंको महासप्तमी अर्थात फूलपातीको दिन आइतबार अपराह्नसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो । 

विभिन्न जिल्ला निस्कने सवारी साधनको चापले पश्चिम जाने नाका नागढुङ्गामा विगत पाँच दिनदेखि देखिएको जाम चेकपोस्टसम्मै थियो । आइतबार जब साँझ पर्दै ग¥यो, विस्तारै नाका तथा बजार सुनसान हुँदै गए । त्यही सिलसिलामा नागढुङ्गा नाकाको विगत पाँच दिनदेखिको जाम खुल्यो । सवारी साधनको आवागमनसमेत ह्यात्तै घटेको छ । 

अन्य नाकाको अवस्था पनि त्यही रह्यो । महाअष्टमीको दिन आज बिहान यहाँका विभिन्न स्थानमा यात्रुको चाप विगत केही दिनका तुलनामा अत्यन्त न्यून पाइयो । उपत्यकाभित्र सार्वजनिक र निजी सवारीको सङ्ख्या पनि घटेको देखियो ।

अघिपछि ट्राफिक व्यवस्थापनमा चार/पाँच सुरक्षाकर्मी खटिने मुख्य चोकमा अहिले एउटा ट्राफिक प्रहरीले व्यवस्थापन गरिरहेका छन् । त्यही पनि सवारीसाधनको चाप नहुँदा उनीहरुले आराम गर्न भ्याएका छन् । नाकामा केही यात्रु अझै गन्तव्यका लागि सवारीसाधन पर्खिएका फेला परे भने केही सार्वजनिक र निजी सवारी साधन उपत्यका छाड्ने तरखरमा रहेका भेटिए । कलङ्कीमा गाडी कुरेर बसेका धादिङका उपेन्द्र अधिकारीले काम विशेषले नभ्याएकाले आज मात्रै घर जान लागेको बताए। उनले सवारीसाधन नआएकाले केही घण्टादेखि गाडीको प्रतिक्षामा रहेको गुनासो गरे ।

सडकमा कतिपय ‘रिजर्ब’ गरेका गाडी गन्तव्य जिल्ला सोझ¥याइरहेका थिए । आज पनि सवारीसाधन र यात्रुले उपत्यका छाड्दै छन्, तर यसअघिका दिनको तुलनमा निक्कै न्यून । राजधानी भित्रिने सवारी साधनको चाप पनि अत्यन्त न्यून देखिएको छ । “अब विस्तारै उपत्यका खाली हुँदैछ, यात्रुको चाप कम भइसक्यो”, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले भने, “दसैँ मान्न धेरै जिल्ला पुगिसकेका छन्, बाँकी रहेका आज जान्छन् ।” आजसम्म सुरक्षित यात्रा भएको छ । ठूला दुर्घटना निम्तिएका छैनन् । 

यातायात व्यवसायीका अनुसार झण्डै १५ लाखदेखि २० लाखसम्मले काठमाडौँ उपत्यका छाडेका छन् । तर प्रहरीको अभिलेखमा भने त्यो पाइँदैन । प्रहरीले राखेको यही असोज १० देखि १६ गतेसम्मको अभिलेखमा छ लाख ५० हजारले काठमाडौँ छाडेका छन् । 

यो सार्वजनिक सवारी साधानमा चढेर गएका यात्रुको अभिलेख हो । तर निजी सवारीमा जाने पनि उत्तिकै छन् । प्रहरी उपरीक्षक क्षेत्रीले धेरैजसो बाहिरिसकेको र केही काम विशेषले बसेकाहरु आज र भोलि उपत्यका छाड्ने बताए । काठमाडौँका बजार क्षेत्र सुनसान छन् । धेरैजसो पसल बन्द छन् । फाट्टफट्ट पसल खुलेका छन् ।