सन्दीप लामिछाने विमानस्थलबाटै पक्राउ

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Sports/खेलकुद , ३ वर्ष अगाडि

काठमाडाैं । नाबालिग किशाेरीलाई बलात्कार गरेकाे आरोपमा राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।

कतार एयरवेजको विमानबाट बिहीबार (आज) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेकाले  लामिछानेलाई विमानबाटै  प्रहरीले  नियन्त्रणमा लिएको जनाएको हाे ।

लामिछाने विरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो। जाहेरीमा उनले नाबालिकालाई भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौंको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप छ।

वेस्ट इन्डिजमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न गएका लामिछानेले आफू निर्दोष रहेको र आरोप विरुद्ध कानूनी लडाइँ लड्ने बताएका छन्। उनले आफू निर्दोष रहेकाले न्याय पाउनेमा विश्वस्त रहेको पनि बताउँदै आएका छन्।