ललितपुर । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।किष्ट मेडिकल कलेजमा उपचाररत शताब्दी पुरुष जाेशीकाे आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको उनको उपचारमा संलग्न डा सुरज बज्राचार्यले जानकारी दिए ।
पिसाब सङ्क्रमण, छाती तथा मुटुको समस्याबाट पीडित जाेशी पछिल्लो समय डेङ्गुबाट समेत सङ्क्रमित भएपछि असोज ७ गते अस्पताल भर्ना भएका थिए ।अस्पताल बसाइको सुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । कलेजले जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो ।
यसैबीच, जोशीको पार्थिव शरीर नजलाई राखिने भएको छ । किष्ट मेडिकल कलेजले शरीर नगल्ने केमिकल प्रयोग गरेर अध्ययनका लागि राख्ने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए ।
आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको हो।उनकै इच्छा अनुसार शरीर अध्ययनका लागि राखिने बस्नेतले बताए। जोशीले मृत्युपछि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए ।