विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने कसैलाई पनि नछोडिने बताएका छन्।
विराटनगरमा शुक्रबार प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै थपलियाले उनीहरूले सहमति जनाएकै विषय कार्यान्वयन गर्दा कोकोहोलो मच्चाएको आरोप लगाए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, “स्पष्टीकरणले तरङ्ग पैदा भएको अवस्थामा आयोगले थप कारबाही गर्नुपर्दा भावी दिनमा भूकम्प पो आउने हो कि!”उनले निर्वाचन आचारसंहिता पालना गर्नेले डराउनै नपर्ने बताए।
निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आचारसंहिता पालना गर्न अनुरोध गर्दै उनले त्याे राजनीतिक दलहरूकै अनुरोधमा तयार गरिएको बताए ।
निर्वाचन पद, पैसा र पहुँचले प्रभावित हुनुहुँदैन भन्दै थपलियाले निर्वाचनको स्वच्छताका लागि सामाजिक सञ्जालको व्यवस्थित उपयोग पनि आग्रह गरे। निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन आयोग लागिरहेको उनकाे भनाइ थियाे ।

