नेपाल संवत्को महत्वलाई उजागर गर्न जरुरी छ : प्रधानमन्त्री देउवा

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले धर्मसंस्कृति, इतिहास र परम्परासँग अभिन्नरूपमा जोडिएको नेपाल संवत्को जगेर्ना गर्दै यसको महत्वलाई उजागर गर्न सबैले मिलेर काम गर्न जरुरी रहेको बताउनुभएको छ ।

नेपाल संवत् ११४३ को अवसरमा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिले आज वसन्तपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपालको मौलिक संवत्का रुपमा रहेको नेपाल संवत्को प्रयोगलाई आगामी दिनमा थप व्यापकता दिन आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले समाजमा गरिबी र असमानताको अन्त्य गर्दै नेपाली जनताको आर्थिकस्तर वृद्धि गर्न र जनतालाई सुखी एवम् स्वतन्त्र तुल्याउन शङ्खधर साख्वाःले गर्नुभएको कामबाट हामी सबैले प्रेरणा लिन सक्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो,“शङ्खधर साख्वाःले देखाउनुभएको सत्मार्गमा हामी सबै प्रतिबद्ध भएर लाग्न सके मुलुकबाट गरिबी, आर्थिक असमानता र विपन्नता चाँडै नै अन्त्य गर्न सकिने कुरामा दुईमत छैन । नेपालको सामाजिक इतिहासलाई उच्च राख्ने शङ्खधर साख्वाःजस्ता महान् व्यक्तित्वबाट हामी सबैले सिक्न जरुरी छ ।” प्रधानमन्त्री देउवाले व्यक्तिगतभन्दा सामूहिक र दलगत हितभन्दा माथि उठेर राष्ट्रिय हितलाई आत्मसात् गरी अघि बढ्नसके मात्र हाम्रो राष्ट्रिय अभीष्ट पूरा हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले न्हूदँको अवसरमा हरेक वर्ष काठमाडौँको वसन्तपुरमा आयोजना गरिने बृहत सांस्कृतिक ¥याली कार्यक्रमबाट राष्ट्रिय विभूति शङ्खधर साख्वाःको योगदानलाई प्रचार–प्रसार हुनुका साथै नेपाल संवत्को ऐतिहासिकता, व्यवहारिकता, सांस्कृतिक महत्वका विविध पक्षलाई आम नागरिकसमक्ष पु¥याउन गरिएका प्रयास प्रशंसनीय रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि राष्ट्रिय विभूति शङ्खधर साख्वाः र नेपाल संवत्का बारेमा थप रचनात्मक कार्य गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

उहाँले विस २०४६ र २०६२÷६३ को जनआन्दोलनको सफलतासँगै नेपाल संवत्ले राष्ट्रिय मान्यता प्राप्त गरेपश्चात हालका दिनमा यसको प्रयोगले व्यापकता लिँदै गएको बताउनुभयो । प्रधानमन्त्री देउवाले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको राष्ट्रियताको भावना, देशप्रेम र उहाँले नेपाली समाजमा पु¥याउनुभएको योगदानको कदर गर्दै नेपाल संवत्को प्रवद्र्धनमा भूमिका खेल्ने सम्पूर्णमा कृतज्ञता व्यक्त गर्नुभयो ।

साथै, उहाँले साख्वाःको योगदानलाई प्रचार प्रसार गरी स्वदेश तथा विदेशका नागरिकमाझ पु¥याएर सकारात्मक सन्देशको प्रवाह गर्ने कार्यमा क्रियाशील विभिन्न सामाजिक सङ्घ संस्थाका उर्जावान प्रतिनिधिलगायत समस्त नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःको उत्पतिस्थलको जगेर्नाका साथै उहाँको पहिचान र गौरबलाई स्थापित गरिनुपर्नेमा जोड दिनुभयो ।

समारोह समितिका अध्यक्ष प्राडा नरेशमान बज्राचार्यले राष्ट्रिय मान्यता पाएको घोषणा गरिएको नेपाल संवत्लाई व्यवहारिक कार्यान्वयन गरिनुपर्ने बताउनुभयो । उहाँले नेपाली मुद्रा र नोटमा नेपाल संवत् लेखिनुपर्ने, नेपाल संवत् प्रतिष्ठान स्थापना गरिनुपर्ने लगायत माग अघि सार्नुभयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पूर्वउपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, पूर्वमन्त्री राजेन्द्र श्रेष्ठ, महानगरका उप–प्रमुख सुनिता ढङ्गोल लगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

म्ह: (आत्म) पूजा

आजैको दिन नेवार समुदायमा  म्ह: [आत्म] पूजा समेत गरिन्छ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरूले आफ्नो आत्म (म्ह:) पूजा पर्व मनाउने गर्दछन् । यस वर्ष मङ्गलबार र बुधबार दुई दिन प्रतिपदा तिथि परेको छ । भक्तपुरलगायत केही स्थानमा भने हिजो नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ । यसैगरी एकथरी नेवार समुदायले मङ्गलबार म्ह: (आत्म) पूजा गरेका छन् । अर्काथरीले भने बुधबार गर्दैछन् । 

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।