काठमाडाैं । उदाउँदाे सूर्यलाई अघ्र्य दिएसँगै यस वर्षकाे छठ पर्व सम्पन्न भएकाे छ । पञ्चमी तिथिका दिन मङ्गलबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका बर्तालुुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् ।

बर्तालु सूर्योदय हुनु एक घडीपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरी रहेका थिए । पञ्चमीका दिन पनि दिनभरि निराहार उपवास बसेका बर्तालुले राति सख्खरमा पकाइएको खीरमात्र खाएका थिए । बर्तालुले पञ्चमीको ‘खरना’ विधियता लगातार करिब ३६ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदा सूर्यलाई अघ्र्य दिँदै ‘भोरका अरख’ सम्पन्न गरेका हुन् ।
‘भोरका अरख’ गरिएसँगै छठ पर्व समापन हुन्छ । यसपटक गत शुक्रबार कात्तिक शुक्ल त्रितीया र चौथी एकै दिन परेको थियो । बर्तालुले सोही दिन व्रत सङ्कल्प गर्दै ‘अरबाअरबाइन’ र ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका थिए ।
यसैगरी छठमा बर्तालुले पञ्चमीका दिन ‘खरना’ र षष्ठी तिथिका दिन आइतबार निराहार व्रतकै बीच साँझपख अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिँदै ‘सझुका अरख’ सम्पन्न गरेका थिए । आज बिहान अघ्र्य दिएसँगै सूर्य उपासनाको महापर्व सम्पन्न गरी बर्तालु इष्टजनसहित छठी घाटबाट घर फर्केका छन् । केही दशकअघि मिथिला क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै बनेको छ । मुलुकको राजधानी काठमाडौँ, गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न ठाउँमा केही वर्षयता उल्लासमय छठ मनाइँदै आइएको छ ।

