काठमाडाैं । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् । लामिछानेलाई बलात्कार मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार पठाइएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि लामिछानेलाई सुन्धारास्थित केन्द्रीय कारागार चलान गर्न आदेश दिएको हो ।
वादी र प्रतिवादीका तर्फबाट भएका थुनछेक बहस सकिएपछि न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका हुन् । लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, कृष्ण सापकोटा, सविता भण्डारी, लभ मैनालीलगायतले बहस गरेका थिए ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार लामिछानेविरुद्ध १० देखि १२ वर्ष सम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन मागदाबी गर्दै काठमाडौं अदालतमा मुद्दा दायर गरेको थियो । अनुसन्धानका क्रममा संकलित तथ्य र प्रमाणले लामिछानेबाट नाबालिग बलात्कृत भएको आरोपपत्रमा उल्लेख छ ।