यस्ताे देखियाे खग्रास चन्द्रग्रहण

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा आज बेलुकी लागेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण सकिएको छ । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले आजको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ ।   बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि आकाश खुलेका ठाउँबाट ग्रहण स्पष्टरुपमा देखिएको थियो । बेलुकी ०५ः२७ बजे ग्रहणको मध्य भएको थियो ।

बेलुकी ०६ः३४ बजे ग्रहण सकिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए । एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिएको थियो ।   चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सूतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएअनुसार आज बिहान ८ः११ बजेदेखि नै भोजन निषेध गरिएको थियो । शास्त्रीय रुपमा बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।