राष्ट्रपतिद्वारा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आइसल्याण्डमा महिला राजनीतिक नेतृत्व मञ्चद्वारा प्रदान गरिने ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गरेकी छिन् । विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुगेकी राष्ट्रपति भण्डारीले मञ्चले प्रदान गरेको सो अवार्ड ग्रहण गरेकी हुन् ।

  उनलाई ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल)का संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले अवार्ड प्रदान गरेका हुन्। अवार्ड ग्रहण गरेपछि उनले महिला राजनीतिक नेतृत्व मञ्चको सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गरिन्।   महिला नेतृत्वको विश्वव्यापी मञ्चमा आमन्त्रित गरिएकाेमा आयोजकलाई धन्यवाद व्यक्त गर्दै राष्ट्रपति भण्डारीले नेपालदेखि आइसल्याण्डसम्मको यात्राले हामीलाई ‘तेस्रो ध्रुव’देखि उत्तरी ध्रुवसम्म जोडेको उल्लेख गरिन् । उनले भगवान् गौतम बुद्ध र सगरमाथाको देशबाट नेपाली जनताको न्यानो सद्भाव लिएर आएको बताइन्। 

राष्ट्रपति भण्डारीले नेपाल मानव अधिकार, समानता, भेदभावरहित, रुपान्तरणका सिद्धान्त आत्मसात् गरिएको समावेसी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको समेत बताइन्। अठार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गरेकी राष्ट्रपति भण्डारी मङ्गलबार आइसल्यान्ड पुगेकी हुन् । उनी भ्रमण सम्पन्न गरी यही कात्तिक २६ गते बिहान स्वदेश फर्कने कार्यक्रम छ ।