सिन्धुपाल्चाेकस्थित नमूना माझी बस्तीका घर किन भयाे प्रयोगविहीन?

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ वर्ष अगाडि

सिन्धुपाल्चाेक । विसं २०७२ वैशाख १२ को भूकम्पपछि थाई नेपाली सङ्घले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ शिखरपुरमा बनाइदिएको नमूना माझीगाउँका ४६ घर प्रयोगविहीन बनेका छन् । भूकम्पलगत्तै रोटरी इन्टरनेशनलसमेतको सहयोगमा थाई नेपाली सङ्घले रु एक करोड सात लाख खर्चेर नमूना बस्ती बनाएको थियो ।

फराकिलो भए पनि एककोठे घर व्यावहारिक नभएपछि विकल्प खोज्नुपरेको धनबहादुर माझीले बताउनुभयो । बाक्लो नमूना बस्तीमा रहेको घरमा माझीले ताल्चा झुन्ड्याउनुभएको छ । माझीले बस्तीको पछाडि छकोठे आरसिसी घर ठड्याउनुभएको छ । तेह्र सदस्यीय परिवार नमूना बस्तीको एककोठे घरमा नअटेपछि अर्को घर बनाउनुपरेको माझीले बताउनुभयो । तत्काललाई नमूना बस्तीले सुविधा दिए पनि अहिले प्रयोगविहीन बनेको सीता माझीले बताउनुभयो ।

उहाँका अनुसार केही माझी परिवारले नमूना बस्तीका घरलाई अन्नपात राख्ने र भान्छा बनाएका छन् । बस्तीका धेरैजसो घर प्रयोगविहीन अवस्थामा छन् । तीनवटा सामूहिक धारा र एक सामुदायिक भवनसहितको नमूना बस्तीका घरमा आधा भागसम्म ढुङ्गाको गारो र बाँकीमा प्रिफ्याब प्रयोग गरिएको छ । निर्माणमा प्रयोग गरिएका सामग्रीको आधारमा बस्तीका घर अल्पकालीन संरचना भएको नमूना बस्ती उभभोक्ता समितिका अध्यक्ष नारायण माझीले बताउनुभयो ।

उहाँका अनुसार माझी बस्तीका ४६ परिवारले नै अर्को घर बनाइसकेका छन् । वैकल्पिक घर बनाउँदा माझी परिवारलाई रु दुईदेखि १० लाखसम्म ऋण लागेको उहाँले बताउनुभयो । दीर्घकालीन सोच नराखी बनाइएको नमूना बस्तीका एककोठे घरमा कहाँ सुत्ने, कहाँ अन्नपात राख्ने, लुगाफाटा कता राख्ने, खाना कहाँ बनाउने र पाहुना आउँदा कसरी अटाउनेजस्ता समस्या आएपछि वैकल्पिक संरचना बनाउनुपरेको माझी समुदायको भनाइ छ ।