काठमाडाैं । सिरियल किलरकाे उपनामले परिचित फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई केन्द्रीय कारागारको गोलघरबाट कैदमुक्त गरी अध्यागमन विभागको जिम्मा लगाइएको छ ।
सर्वोच्च अदालतको बुधबारको आदेशबमोजिम शोभराज शुक्रबार कारागारबाट मुक्त भएसँगै उनलाई कारागारबाट अध्यागमन विभाग पुर्याइएको हो । आवश्यक कानुनी प्रक्रिया सकेर उनलाई पुनः नेपाल आउन नपाउने गरी फ्रान्सलाई प्रत्यर्पण गरिने जनाइएकाे छ ।
नेपालमा अपराध गरेका विदेशी नागरिकलाई समय तोकेरै नेपाल फर्कन रोक लगाउन सक्ने अधिकार विभागसँग छ । शोभराजले १० दिन गंगालाल अस्पतालमा बसेर उपचार गराउने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।नेपालमा १९ वर्षदेखि जेल सजाय भोगिरहेका शोभराजलाई गत बुधबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो ।