“राष्ट्रियसभाले खोलिदिएको बैंक खाता छ, अरु कुनै बैंक खातामा एक रुपैयाँ पनि छैन”

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको बताउनुभएको छ ।

मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उहाँले आफू पद र शक्तिका लागि भन्दा पनि देश सेवाभावले केही गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको बताउनुभयो । उहाँले आफूसँग अरु कुनै चलअचल सम्पत्ति तथा एक कित्ता शेयर पनि नरहेको बताउनुभयो ।

“राष्ट्रियसभा सदस्य भएकाले त्यहीँ एउटा राष्ट्रियसभाले खोलिदिएको बैंक खाता छ, अरु कुनै बैंक खातामा एक रुपैयाँ पनि छैन”, उहाँले भन्नुभयो, “न घर छ, न जग्गा छ, भएको पैतृक सम्पत्ति पनि बेचेर ऋणपान तिरेँ, बाँकी रहेको पैसा पार्टीकै लागि दिएको छु ।” आफूलाई यहाँसम्म आइपुग्न प्रतिष्ठान र आफ्ना नातेदारको भूमिका पनि महत्वपूर्ण रहेको उहाँले बताउनुभयो ।

“तपाईँहरूले मलाई कुनै अनावश्यक काम गर्न दबाब दिनु भएन । तपाईँहरूको हौसला मेरा लागि सधैँ प्रेरणा बन्यो”, उहाँले भन्नुभयो, “ऐन, नियमविपरीत तपाईँहरूले मलाई काम गर्न कुनै दबाब दिनु भएन र त, म अहिले यहाँ छु ।”