काठमाडौँ । काठमाडौँ महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउने भएको छ । जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स कम्पनीका प्राविधिक सल्लहाकार एवं इञ्जीनियर विमल रिजालले महानगरको सहयोगमा एक वर्षदेखि धेरैमा डेढ वर्षभित्र भ्यूटावर निर्माण सम्पन्न भई सञ्चालन हुने जानकारी दिए ।
विसं २०७१ मा महानगरपालिकासँग सार्वजनिक–निजी साझेदारीको सम्झौताअनुसार २०७५ फागुनभित्र कम्पनीले भ्यूटावरको निर्माण सम्पन्न गर्नपर्ने थियो । तोकिएको अवधि सकिएको चार वर्ष पुगेको छ । तर कम्पनीले भने निर्माण सम्पन्न हुन अझै थप साढे एक वर्षसम्म लाग्ने जनाएको हो ।उनले भने, “संरचनाको अधिकांश आधारभूत काम सकिँदैछ । अब सुपर स्ट्रक्चर (बाहिर देखिने स्वरुप) बाँकी छ ।
महानगरको सहयोग पाए एकदेखि डेढ वर्षभित्र भ्यूटावर सञ्चालनमा ल्याउँछौँ ।” भ्यूटावरको दुई तलाको बेसमेन्ट र त्यसमाथि नौ तलाको संरचना बनिसकेको छ । उहाँका अनुसार जमिनमुनिको सबै काम सम्पन्न भएको हो । सम्झौताबमोजिम पाँच वर्षभित्र निर्माण सम्पन्न नगर्नु आफूहरूको कमजोरी भएको कम्पनीले स्वीकार्दै आएको छ ।
“ढिला भएको स्वीकार गर्छाैँ । तर अहिले काम निरन्तर भइरहेको छ”, उनको भनाइ छ । डेढ वर्षभित्र काठमाडौँ भ्यूटावर सञ्चालनमा ल्याउने सङ्कल्प गरिरहेको कम्पनीको प्राथमिकतामा व्यावसायिक भवन परेको छ । अर्कातर्फ, काठमाडौँ महानगरले सुरुमा बस टर्मिनल बन्नुपर्ने बताउँदै आएको छ ।

