अर्थतन्त्र सुधार्न सरकारले हस्तक्षेप गर्छः उपप्रधानमन्त्रीश्रेष्ठ

NewsBankNepal Banner Headline with Image , Latest Update , ३ वर्ष अगाडि

काठमाडाैं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई सुधार गर्न आवश्यक परे सरकारले हस्तक्षेप गर्ने बताउनुभएको छ ।

नेपाल उद्योग परिसङ्घको पदाधिकारीले आज गरेको भेटवार्तामा उहाँले अर्थतन्त्रमा देखिएको समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । “जहाँ समस्या छन्, समाधान गर्ने । जहाँ कमजोरी छन् त्यसलाई सच्च्याउने, जहाँ छुट दिनै नसकिने छ त्यहाँ आवश्यक हस्तक्षेप गर्ने प्रक्रियामा अगाडि बढ्नेछौँ”, उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि परिसङ्घको सुझाव महत्त्वपूर्ण रहेको बताउनुभयो । सो क्रममा परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले पूर्वाधार क्षेत्रमा लगानीको आवश्यकतामा जोड दिँदै विकास खर्च बढाउन आग्रह गर्नुभयो ।

पूर्वाधारमा कम लगानी भएको, विकास खर्च कम हुँदा समग्र पूर्वाधार उद्योगमा सुस्तता आएको उहाँको भनाइ छ । पूर्वाधार क्षेत्रमा सुस्तता आउँदा निर्माण व्यवसायीसहित निर्माणसँग सम्बन्धित सबै क्षेत्रमा मन्दी आएको जनाउँदै अध्यक्ष अग्रवालले निर्माण व्यवसायीलाई भुक्तान गर्नुपर्ने रकम छिटो भुक्तानीका लागि अर्थ मन्त्रालयसँग समन्वय गर्न, विकास खर्च बढाउन एवं बजेट छुट्याएर विकास परियोजना छिटो सम्पन्न गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।