अब काठमाडौँ प्रशासनको सेवामा ‘समय कार्ड’

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , २ वर्ष अगाडि

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आजदेखि विभिन्न सेवा प्रवाहमा ‘समय कार्ड’ लागू गरेको छ । यस्तै गुनासो सुन्न प्रजिअ आफैँ सक्रिय हुनुहुनेछ भने ६५ वर्षमाथिका नागरिकलाई सेवा दिन सहयोगी खटाउन थालिएको छ ।  

अन्य अशक्त, दूधे बालक बोकेका महिलालगायतलाई भने लाइनमा नराखी सेवा प्रवाह गर्ने व्यवस्था पनि मिलाइएको छ । यसले प्रशासनको सेवा प्रवाहलाई चुस्त बनाउने र नागरिकको सेवा प्रवाह प्रभावकारी हुने विश्वास रहेको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । कार्यालयबाट उपलब्ध हुने विभिन्न १० वटा सेवा प्रवाहका लागि समय तोकिएको र चारवटा सेवामा भने आजैदेखि समय कार्ड लागू भएको छ ।  

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीका अनुसार नयाँ नागरिकता, सङ्घसंस्थाको नवीकरण, नाबालाक प्रमाणपत्र प्राप्ति र मुद्दाको पेशी तथा तारिखमा समय कार्ड लागू गरिएको छ । उनले नागरिकताका लागि एक घण्टा, संस्था नवीकरणका लागि ३० मिनेट, नाबालक प्रमाणपत्र प्राप्तिका लागि एक घण्टा र मुद्दाको पेशी र तारिखमा ३० मिनेटभित्र सेवा प्रवाह गर्ने गरी समय कार्य तोकिएको जानकारी दिए ।  

नयाँ नागरिकतामा मात्रै समय कार्ड लागू भएको तर प्रतिलिपि लिनका लागि भने लागू भएको छैन । कसैले आफ्नो नागकिरता बनाउनुप¥यो भने आवश्यक कागजपत्र लिएर प्रशासन गएर बुझाएपछि फाँटका कर्मचारीले हेरेर कागजात पुग्यो भनेको एक घण्टाभित्रमा नागरिकता दिने गरी टाइम कार्ड लागू गरिएको जनाइएको छ ।

तयार भएको राष्ट्रिय परिचयपत्र वितरणमा व्यक्ति सम्बन्धित फाँटमा आएर सम्पर्क गरिसकेपछि ३० मिनेटभित्रमा कार्ड प्राप्त गर्न सक्नेछन् । तयार भएको राहदानी वितरणमा सम्बन्धित फाँटमा पुगेपछि १५ मिनेटभित्रमा दिने गरी समय तोकिएको छ । अन्य सेवामा पनि समय तोकिइसकेको र निकट भविष्यमै लागू गर्दै जाने काठमाडौँ प्रशासनले जनाएको छ ।

  मुख्यतः संस्था नवीकरण, नागरिकता प्राप्ति, नाबालिग परिचयपत्र, मुद्दा पेशी तोक्ने, मुद्दाको तारिख, प्रिन्ट भएर आएका राहदानी वितरण, राष्ट्रिय परिचयपत्र कार्ड वितरण, जिल्ला प्रशासनले गर्ने विभिन्न सिफारिसलाई समयबद्ध बनाइएको हो । अनुसन्धान सकिएपछि मुद्दाको अन्तिम किनारा ६० दिनभित्रमा सक्ने गरी टाइम कार्ड बनाइएको छ ।