काठमाण्डौ, ४ माघ । आँखासम्बन्धी वरिष्ठ डाक्टर सन्दुक रुइतलाई बहराइन सरकारले दिने प्रतिष्ठित इसा अवाडले सम्मानित गर्ने भएको छ ।
मानवीय सेवाका लागि दिइने यो पुरस्कार इसा अन्तर्गत डाक्टर रुइत यस पटक विजेता बन्नुभएको गल्फ न्युजले जनाएको छ । बहराइनका राजाका विशेष प्रतिनिधिले हिजो अवार्ड विजेताको घोषणा गरेका गल्फ न्यूजको खबरमा उल्लेख छ ।
बहराइन सरकारले हरेक दुई वर्षमा प्रदान गर्ने यो अवार्ड विपद् रोकथाम, राहत, शिक्षा, मानव सेवालगायतका ११ वटा विधामा प्रदान गरिन्छ । यो अवार्डको स्वर्ण विजेताले १० लाख अमेरिकी डलर अर्थात १३ करोड रुपैयाँ प्राप्त गर्दछन । अवार्डसँगै डाक्टर रुइतले १३ करोड रुपैयाँ प्राप्त गर्नुहुनेछ ।
डाक्टर रुइतले नेपालसहित विश्वका विभिन्न देशका एक लाख ८० हजार जनाभन्दा धेरेको शल्यक्रिया गरेर आँखाको ज्योति दिन सफल हुनुभएको छ । बोर्ड अफ ट्रस्टिजका अध्यक्ष मोहम्मद बिन मुबारक अल खालिफाले यस पटक अवार्डका लागि एक सय ३९ वटा मनोनयन परेको जानकारी दिनुभयो ।
यस्तै मानवताका लागि इसा अवार्डका महासचिव अलि अब्दुल्लाह खालिफाले डाक्टर रुइतले मोतियाविन्दुको उपचारमा अकल्पनीय योगदान दिएको उल्लेख गर्दै उहाँको सक्रियता नभएको भए हजारौँले दृष्टि नपाउने बताउनुभएको छ ।