काठमाडाैं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी त्रिदेशीय शृङ्खलाको चार वटै खेलमा नेपालले जित हात पारेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा स्कटल्यान्डलाई दुई विकेटले पराजित गरेसँगै यो शृङ्खलाका सबै खेलमा नेपालले जित हात पारेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४६.१ ओभरमा सबै विकेट गुमाउँदै २१३ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य पछ्याउने क्रममा नेपालले ४४.१ ओभर खेल्दै स्कटल्यान्डलाई पराजित गरेको हो।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रन जोडे। उनलाई करण केसीले ३१ रन जोड्दै साथ दिए। त्यस्तै‚ ज्ञानेन्द्र मल्लले २१, कुशल भुर्तेलले १७ रन, आशिफ सेखले १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन्।
स्कटल्यान्डलाई सस्तोमा समेट्ने क्रममा सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए। करण केसीले तीन, ललित राजवंशी र कुशल मल्लले एक–एक विकेट लिए। यो शृङ्खलामा नामिबिया जितविहीन रहेर घर फर्केको छ।