मुख्य मन्त्रीको पद जोगियो, शाहले पाए ४१ मत

Dipak Pudasaini Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , २ वर्ष अगाडि

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको पद जोगिएको छ । प्रदेश सभाबाट आज शाहले ५३ मध्धे ४१ अर्थात दुई तिहाइ बहुमतका साथ विश्वासको मत प्राप्त गरेर आफ्नो पद जोगाएका छन ।

यस अघि संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसक्दा उनी नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा गत माघ २६ गते शाह नियुक्त भएका थिए ।

प्रदेश सभाबाट मुख्यमन्त्री शाहले आफ्नो दल कांग्रेसको १९ (आफूसहित), नेकपा माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्य गरी ४१ जनाले विश्वासको मत दिएका हुन ।

५३ सदस्यीय रहेको प्रदेश सभामा नेकपा एमालेका १० जना (उपसभामुख समेत) र राप्रपाका १ जना प्रदेश सभा सदस्यले प्रतिपक्षमा बस्दै मुख्यमन्त्री शाहलाई विश्वास मत दिएनन ।