काठमाडौं । मुलुकले आज तेस्रो राष्ट्रपति पाउँदैछ । नयाँ राष्ट्रपति चयन गर्न विहान निर्वाचन हुँदैछ । नयाँबानेश्वरस्थिति ल्होत्से हलमा विहान १० बजेदेखि सुरु भएकाे मतदान दिउँसो ३ बजेसम्म जारी रहने छ ।
ल्होत्से हलभित्रका दुई मतदान केन्द्रमा संघीय सांसद र प्रदेश सांसदहरुले छुट्टाछुट्टै मतदान गर्ने व्यवस्था मिलाइएको छ । संघ र प्रदेशका सांसदहरुको छुट्टाछुट्टै लाइन हुने छ ।गठबन्धनको तर्फबाट कांग्रेसका बरिष्ठ नेता रामचन्दै पौडेल र एमालेको तर्फबाट नेता सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा छन् । तटस्थ बस्ने राप्रपाकाे निर्णयले कांग्रेस उम्मेदवार पौडेललाई राहत दिएको छ भने एमाले उम्मेदवार नेम्वाङको आशा लगभग सकिएको छ ।५० प्रतिशत मत ल्याउने निर्वाचित हुनेछन् ।
त्यसरी निर्वाचित राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ गराउनेछन् । त्यसपछि राष्ट्रपतिको कार्यकाल सुरु हुनेछ भने वर्तमान राष्ट्रपति शीतलनिवासबाट बाहिरिनेछन् ।भण्डारीले नेपालको प्रथम महिला राष्ट्रपतिका रुपमा इतिहास लेखनको अवसर पाइन्, तर उनीमाथि राष्ट्रपतिको पदलाई कार्यकारीजस्तो बनाएको आरोप मात्रै लागेन, उनले देखाएको सक्रियताकै कारण दलहरुले त्यसैमा चर्को राजनीतिसम्म गरे ।
अपराह्न ४ बजेदेखि मतगणनाको कार्य सुरु गरेर साँझ ७ बजेसम्म गणना सकिसक्ने लक्ष्य राखिएको छ । मतगणना सकिएसँगै ल्होत्से हलमै आएर मतपरिणामको घोषणा गरिने निर्वाचन अधिकृत पौडेलले जानकारी दिए ।
निर्वाचनको परिणाम सार्वजनिकलगत्तै नयाँ राष्ट्रपतिलाई प्रमाणपत्र वितरण गरिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते राति १२ बजेसम्म रहेकाले त्यसको भोलिपल्ट अर्थात् २९ गते नयाँ राष्ट्रपतिको शपथ ग्रहण हुनेछ ।भण्डारी त्यसैदिन शीतलनिवास छाडेर निजी निवास चपली जाने तयारीमा छिन् ।

