काठमाडौं – आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्ना तयारीमा तीव्रताका साथ जुटेका छन् ।
मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कूल ६९ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये बारा क्षेत्र नं २ मा सबैभन्दा धेरै ३६ जनाको उम्मेदवारी परेको छ । साथै तनहुँ क्षेत्र नं १ मा नौ र चितवन क्षेत्र नं. २ मा २४ जना उम्मेदवारी परेको छब ।
बारा क्षेत्र नं २ मा गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनता समाजवादी पार्टीबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ । मङ्सिर ४ गतेको निर्वाचनमा चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वाेच्च अदालतको आदेशबाट पदविहीन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनका लागि रास्वपाबाट पुनः लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानलगायतको उम्मेदवारी परेको छ । तनहुँ क्षेत्र नं १ मा मङ्सिर ४ गतेको निर्वाचनमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।तनहुँ १ मा उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्लेलगायत यस निर्वाचन क्षेत्रमा मङ्सिर ४ गते यता एक सय ८५ मतदाता घटेर एक लाख २३ हजार तीन सय पाँच कायम भएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्वीकृत मतदाता नामावली बमोजिम २०७९ वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिमध्ये ८८ लाख हजार ५२ हजार ४६ महिला, ९१ लाख ४९ हजार तीन सय ३५ पुरुष र एक सय ८५ अन्य गरी एक करोड ८० लाख एक हजार पाँच सय ६६ मतदाता कायम छन् । आयोगले उपनिर्वाचनका लागि यही चैत २४ गतेदेखि निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ भने उम्मेदवारले निर्वाचनमा खर्च गर्न पाउने हद निर्धारण गरिसकेको छ ।

