काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको समयमा नेपालका बैंकहरूको अवस्था सुरक्षित रहेको बताउनुभएको छ ।
केन्द्रीय बैंकद्वारा आज चालु आर्थिक वर्षको पहिलो आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले वित्तीय सूचकमा देखिएका सुधारले समग्र बैंकहरूको अवस्था सुरक्षित रहेको बताउनुभएको हो ।
राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले वित्तीय सूचक सुधारात्मक हुँदै गरेको र यसले बैंक तथा वित्तीय संस्था छोटो समयमा तरलताकै कारण समस्यामा नआउने उहाँको भनाइ छ ।
उहाँले राष्ट्र बैंकले तरलताका सम्बन्धमा गरेका नीतिगत व्यवस्थाले छोटो समयमा तरलताकै कारण बैंक वित्तीय संस्था समस्यामा नपर्ने बताउनुभयो । “समग्रमा बैंकहरूको अवस्था सुरक्षित छ, स्वस्थ छ, सानोतिनो धक्काले जोखिम आउने अवस्था छैन । तथ्याङ्कहरु पनि बलिया छन्”, उहाँले भन्नुभयो ।

