सरकार र निजी क्षेत्रबीचकाे साझेदारी बढाउन पहल गर्छु:अध्यक्ष ढकाल

NewsBankNepal Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , २ वर्ष अगाडि

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले आज अध्यक्षको पदबहाली गरेका छन् । आज  टेकुमा रहेकाे महासङ्घको केन्द्रीय कार्यालयमा ढकालले अध्यक्ष पदको पदबहाली गरेका हुन् ।

ढकालले गएकाे बिहीवार निवर्तमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । ढकालले बिहीवार नै पद तथा गोपनीयताको शपथ लिएका थिए ।

महासङ्घको वरिष्ठ उपाध्यक्ष रहेका ढकाल महासङ्घको विधानअनुसार स्वतः अध्यक्ष भएका हुन् ।





पदबहाली गर्दै अध्यक्ष ढकालले सानो व्यवसायीले पनि महासङ्घको नेतृत्व गर्नसक्छ भन्ने उदाहरण आफैँ भएको बताउनुभयो । उहाँले नागरिकको अपेक्षा र सरकारको प्राथमिकतामा परेको कामलाई व्यवसायको रूपमा काम गर्दा सफल हुने बताउनुभयो । उहाँले वर्तमान आर्थिक सङ्कट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउन पहल गर्ने बताउनुभयो । उहाँले सरकार र निजी क्षेत्रबीच साझेदारी गर्‍याे भनेमात्रै व्यावसायिक गतिविधि बढ्ने भन्दै सरकार र निजी क्षेत्रबीचको साझेदारी बढाउने प्रतिबद्धता जनाउनुभयो । नागरिक र सरकारले व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै व्यवसायीलाई हर्ने दृष्टिकोण सकारात्मक बनाउने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘देशमा आर्थिक सङ्कट देखिएकाे छ । अर्थतन्त्रको समस्याको समाधान कसरी गर्ने, कसरी सङ्कटबाट बाहिर आउने भन्ने विषयमा सरकारसँग सहकार्य गरेर समाधान गर्ने पहल गर्छु ।सरकार र निजी क्षेत्रबीच साझेदारी भयाे भनेमात्रै व्यावसायिक गतिविधिहरू बढ्छ । सरकार र निजी क्षेत्रबीचको साझेदारी बढाउन महासङ्घको अध्यक्षको हैसियतले पहल गर्नेछु । नेपालमा प्रत्येक वर्ष पाँच लाख जनशक्ति बाहिर आइरहेको छ । त्यो जनशक्तिमध्ये धेरै वैदेशिक रोजगारीका लागि जाने गरेको छ । महासङ्घले नेपालमा बस्ने र बाहिर जाने जनशक्तिलाई लगानीकर्ता तथा सरकारसँग सहकार्य गरेर दक्ष बनाउनेछ । निजी क्षेत्रलाई आम नागरिकले हेर्ने दृष्टिकोण परिवर्तन गर्नेछु ।’

त्यस्तै महासङ्घका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अध्यक्ष ढकालले सार्वजनिक गरेका पाँच वटा प्रतिबद्धतामा साथ दिएर अगाडि बढ्ने जनाउनुभयो । उहाँले ढकालले महासङ्घको नेतृत्व लिँदै गर्दा लिएका उद्देश्य पूरा गर्न सबैभन्दा नजिकको सहयोग बनेर सहयोग गर्ने बताउनुभयो । अनुभवी र सानो व्यवसायबाट ठूलो व्यावसायिक समूहमा पुगेको अनुभवले महासङ्घलाई नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

गाेल्छाले महासङ्घका आएको नयाँ टिमले अब देशको अर्थतन्त्र कसरी माथि लैजाने भनेर काम गर्ने विश्वास रहेको बताउनुभयो । उहाँले ढकालको नेतृत्वको टिम महासङ्घमा सफल हुने पनि बताउनुभयो ।