राजनीतिक उपलब्धि माथि चौतर्फी आक्रमण भइरहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक उपलब्धि माथि चौतर्फी आक्रमण भइरहेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले यो वा त्यो कोणबाट उपलब्धि माथि आक्रमण बढिरहेको बताउनुभयो । प्रतिगमनलाई परास्त गर्न राजनीतिक दलहरु अझै सचेत भएर लाग्नुपर्नेमा जोड दिँदै उहाँले जनसङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्नु अहिलको आवश्यकता रहेको बताउनुभयो ।

“संविधानका उपलब्धिलाई औपचारिकरुपमा नै खोस्ने वा संविधानका प्रावधानलाई उल्लङ्घ गर्ने प्रवृत्ति देखा परेका छन्”, उहाँले भन्नुभयो, “त्यस्ता प्रवृत्तिविरुद्ध हामी लड्यौँ, त्यसलाई परास्त बनायौँ ।” शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने दायित्व वर्तमान सरकारको काँधमा रहेको भन्दै उहाँले संविधानमार्फत उपलब्धिलाई संस्थागत तथा सेना समायोजन सम्पन्न भएको र अब सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित काम बाँकी रहेको बताउनुभयो । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानिबन आयोगलाई पूर्णता दिएर मात्रै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न सकिने उहाँको भनाइ छ ।

“शान्ति प्रक्रियाको बाँकी काम हरहालतमा पूरा गर्नुछ, दशकभन्दा बढी बित्यो, तर हामीले त्यो काम पूरा गर्न सकिराखेका छैनौँ, संविधान जारी गरेको पनि सात वर्ष पूरा भइसक्यो, शान्ति प्रक्रियालाई पूरा हुन नदिन विभिन्न प्रयत्न भइरहेका छन्, त्यस्ता प्रयत्नलाई असफल पार्दै शान्ति प्रक्रियालाई समग्रतामा पूर्णता दिनुछ”, उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाभिमान र स्वाधीनताको रक्षा तथा राष्ट्रिय सुरक्षालाई सुदृढ पार्नु वर्तमान सरकारको प्रमुख कार्यभार भएको बताउनुभयो । मुलुकलाई आर्थिक सामाजिकरुपमा समृद्धि बनाउने तत्कालिक कार्यभार भएको उहाँको भनाइ छ ।