विचार मिल्ने कम्युनिस्ट पार्टीलाई मिलाएर छिट्टै समाजवादी मोर्चा बनाउँछाैं: अध्यक्ष नेपाल

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले विचार मिल्ने कम्युनिस्ट पार्टीहरूबीच छिट्टै समाजवादी मोर्चा बनाएर अघि बढ्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित विचार गोष्ठीमा उनले विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा, संगठनात्मक सोच, कार्यशैली र मन मिल्नेहरूबीच एउटै पार्टी हुने बताएका हुन् ।

विचार मिल्ने कम्युनिस्ट पार्टीहरूबीच समाजवादी मोर्चा बनाएर अघि बढ्ने दिशामा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पहल गरिरहेको उनले उल्लेख गरे । त्यसलाई छिट्टै घोषणा गरेर अघि बढ्ने उनको भनाइ छ ।

मुलुकमा विद्यमान समस्यालाई समाधान गर्नका लागि कम्युनिस्ट शक्तिहरूको विकल्प नभएको भन्दै उनले सबै कम्युनिस्ट पार्टीहरूलाई एकताबद्ध हुन आग्रह गरे ।

उनले नेकपा मसाल, नेकपा संयुक्तलगायत साना वाम राजनीतिक शक्तिहरूलाई समाजवादी मोर्चामा सहभागी भएर अघि बढ्न पनि आह्वान गरे ।