सरकार र महावीर पुनबीच सातबुँदे सहमति

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच सातबुँदे सहमति भएको छ। सोमबार सिंहदरबारमा पुन र उपप्रधानमन्त्री एवं रक्षा र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्काबीच भएको वार्तापछि सहमति जुटेको हो। सरकारसँग सहमति भएसँगै पुनले गर्दै आएको आन्दोलन स्थगित भएको छ। 

सरकार र पुनबीच अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्नुपर्ने र यस कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरूमा लगानी गर्ने, कोषको व्यवस्थापन तथा सञ्चालन गर्न संघीय संसद्को आउँदो अधिवेशनमा विधेयक पेस गरी पारित गर्ने, सो विधेयकको मस्यौदा सरोकारवालको परामर्शमा आगामी ६० दिनभित्र तयार गर्ने सहमति भएको छ। 

सहमतिपत्रमा हस्ताक्षर गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खड्काले पुनसँग अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने विषयमा सहमति भएको बताए। उनले कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरूमा लगानी गर्ने कुरामा सहमति भएको उल्लेख गरे।

सहमतिपछि अध्यक्ष पुनले सोमबारबाट आफ्नो आन्दोलन स्थगित गरेको र आगामी दिनमा युवाहरूलाई जागरूक गर्न आन्दोलन गर्ने बताए। आन्दोलन शान्तिपूर्ण भएको र छलफल पनि सकारात्मक भई सहमति भएको उनको भनाइ छ।