काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आयोजनामा सम्पन्न भएको राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दैलेखका दीपिन सिंजापति प्रथम भएका छन्।
वैशाख २३ गते शनिबार काठमाडौंको आरुबारीमा सम्पन्न प्रतियोगितामा लमजुङकी मुना बोहरा द्वितीय र लमजुङकै प्रज्ज्वल अधिकारी तृतीय भए ।
यसै गरी भिजन गुरागाई, जगतबहादुर खड्का, लक्ष्मण ढकाल, संयोग बस्याल र प्रकाश समीरले सान्त्वना पुरस्कार प्राप्त गरे ।
प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ तथा सान्त्वना रु. २० हजार प्रदान गरिएको थियो । कार्यक्रमका सभापति तथा प्रमुख अथिति लगायत अतिथिहरुले नगद, प्रमाण प्रदान गरेका थिए।
प्रतियोगितामा वाचन गरिएका गजलहरुको मूल्यांकनकर्तामा करुण थापा, प्रभाती किरण र धनेन्द्र ओझा रहेका थिए । मुलुकका विभिन्न क्षेत्र र विदेशबाट समेत गरी गजल महोत्सवका लागि ४ सय ५६ वटा गजल प्राप्त भएकोमा प्रारम्भिक मूल्यांकनबाट ४१ वटा गजललाई प्रतियोगिताका लागि चयन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसाललले गोकर्णेश्वरलाई साहित्यिक हब बनाउने उद्देश्यका साथ विगत ३ वर्षदेखि साहित्यका विविध विधामा प्रतियोगिताहरु गरिरहेको जानकारी दिए
नगरप्रमुख रिसालले मुलुकको भाषा, साहित्य र संस्कृति संरक्षणका लागि नगरपालिका सदैव क्रियाशील रहने बताउँदै गजल महोत्सवको सफलताबाट अरु उत्साह थपिएको बताए।
कार्यक्रममा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले गजल बिधामा युवा पुस्ताको आकर्षण लोभलाग्दो रहेकोे गजल विधाको राम्रो सम्भावना रहेको बताए।
कार्यक्रममा पूर्व मन्त्री रामेश्वर फुयाँल, वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसे लगायतका वक्ताहरुले गोकर्णेश्वर नगरपालिकाले साहित्यिक क्षेत्रमा देखाएको उत्सुकता धेरैका लागि प्रेरणादायी रहेको बताए ।
कार्यक्रममा आयोजक समितिका संयोजक गोविन्दप्रसाद घिमिरे वेदमणिले गजल महोत्सव आयोजनाको औचित्यबारे प्रकाश पारेका थिए।