जलेश्वर । पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि मिथिलाञ्चलका महिलाले आज बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् । जेठ कृष्णपक्ष आमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ । नवविवाहिता महिलाले पहिलो वरसाइत (बिहेपछि आउने पहिलो पर्व) अनिवार्यरुपमा ससुराल (श्रीमान्को घर) मै मनाउनुपर्छ ।
बिहीबार नहायखाय (स्नान गरी सात्विक भोजन) गरेपछि लुगादेखि चुरासम्मका सबै शुङ्गार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ । आज बिहानै नुहाइ रातो, पहेँलोसहित विभिन्न रङको पहिरनमा नजिकको वर (बट)को रुखमुनि बसेर नवविवाहितले आफ्ना पतिका साथ पूजा गर्दैछन् । उपलब्ध भए वर र पीपल दुवैसँगै भएको ठाउँमा वा नभए वरको रुखमुनि पीपलको हाँगा गाडेर भए पनि वर र पीपल दुवैको उपस्थितिमा पति पत्नी मिलेर पूजा गर्ने चलन छ । पति र पत्नीले पूजा गरिरहँदा पत्नीको भाइ छाता ओढाएर साक्षीको रुपमा उभिन्छन् ।
महिला पुरोहितले पर्वको मन्त्र उच्चारण गरी वरको जरामा पूजा गर्छन् । अंकुरी (पानीमा भिजाएर उमारिएको चना, मुंग र चामल) काँक्रो, केरा, स्याउ, अङ्गुर, आँप, लिची र नरिवल प्रसादको रुपमा वरको जरामा चढाएर सिन्दूरले रङ्ग्याउँछन् ।
प्रसाद चढाइसकेपछि बर्तालुले पतिलाई उभिन लगाएर वरको रुखमा सात फेरो पहँेलो र रातो धागोले बेर्छन् । आँप र कलश लिएर तीनपटक वरको रुख र पतिको परिक्रमा गर्छन् । परिक्रमा गरिरहेको बेलला बर्तालुले एकपटक वरको जरामा र अर्को पटक पतिको गोडामा जल चढाउँछन् ।

