काठमाडौँ । टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी आममाफी पाएसँगै आज रिहा भएका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै उनी रिहा भएका हुन् ।पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो ।मन्त्रिपरिषद्ले रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो ।
राष्ट्रपति रामचन्द्र पौडेलले अदालतको फैसलाबाट दोषी प्रमाणित भएर जेलमा रहेका चौधरीसहित १९ जनाको कैद सजाय माफी गरिदिएका छन् ।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा चौधरीसहित ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेका हुन् ।
संविधानको मस्यौदामा उल्लेख गरिएका विषयवस्तुको विरोधमा २०७२ भदौ ७ मा टीकापुरमा भएको प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा ८ प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।
घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरी वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी, प्रहरी जवान जनक नेगी र डेढ वर्षीय बालक टेकबहादुर साउद मारिएका थिए ।

